क्यानले यो सिजन आयोजना गर्दैछ ३ वटा सिनियर राष्ट्रिय प्रतियोगिता

News

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–९,मंगलबार ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सफल आयोजना गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले यो सिजन थप तीन वटा सिनियर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दैछ। जसमा दुई वटा पुरुष र एक महिलाको प्रतियोगिता छ।

क्यानले पुसको अन्तिम सातादेखि पर्सा र धनुषामा एलाइट कप दुई दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तयारी गरिरहेको छ।

मिति घोषणा गर्न बाँकी रहेको प्रतियोगितामा चार टोली सहभागी हुनेछन्। अघिल्लो वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको शीर्ष चार टोलीले एलाइट कपमा भाग लिनेछन्। गत वर्षको च्याम्पियन नेपाल पुलिस क्लब, उपविजेता त्रिभुवन आर्मी क्लब तथा शीर्ष चारमा पुगेका बागमती र मधेस प्रदेशले प्रतियोगिता खेल्दैछन्।

यद्यपी प्रतियोगिता दुई पटक सरिसकेको छ। प्रतियोगिता यसअघि चैत–वैशाखमा खेलाउने क्यानको वार्षिक क्यालेण्डरमा उल्लेख थियो। त्यसपछि भदौमा क्यानको बैठकले अक्टोबर अन्तिममा एलाइट कपमा गर्ने तय गरे पनि प्रतियोगिता जनावरी २०२५ मा सम्म सरेको हो।

एलाइट कप आयोजना गरेपछि क्यानले सुदूरपश्चिममा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको छ। यो प्रतियोगिताका लागि सरकारबाट बजेट प्राप्त हुने भएकाले क्यानलाई यो वर्षभित्रै प्रतियोगिता गर्न दबाब छ।

क्यानले महिला राष्ट्रिय कप सके लगत्तै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय प्रतियोगिता सञ्चालन गर्नेछ। क्यानलाई यो प्रतियोगितालाई पनि सरकारबाट बजेट प्राप्त हुन्छ। त्यसैले कम्तिमा पनि यो आर्थिक वर्षमा प्रतियोगिता सक्नुपर्छ।

गत वर्ष राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको प्रधानमन्त्री कप एकदिसीय प्रतियोगिता तीन वटा मैदानमा भएका थिए। भैरहवा, मुलपानी र कीर्तिपुर मैदानमा भएको प्रतियोगिताको यो सिजनको भेन्यू अझै तय गरिएको छैन। कीर्तिपुर मैदानमा फ्लड लाइट र प्यारापिटको काम सुरु नभएको अवस्थामा क्यानले प्रधानमन्त्री कप काठमाडौंमा गर्नेछ। कीर्तिपुर मैदानमा हुन नसकेको अवस्थामा क्यानलाई मुलपानीका तल्लो र माथिल्लो गरी दुवै मैदानमा प्रतियोगिता सञ्चालन गर्ने विकल्प पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *