हालखबर मिडिया डेक्स
माघ २४,बिहिबार ।
कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।
महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले जानकारी दिए ।
प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०र१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०र११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।